दार्चुलामा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। आर्थिक गणना कार्यालयका अनुसार असार ७ गतेसम्म सञ्चालन हुने यस गणनाका लागि जिल्लामा १८ जना गणक र ३ जना सुपरिवेक्षक खटिएका छन्।
गणनाको क्रममा होटल, व्यवसाय, प्रतिष्ठान, वित्तीय संस्था लगायत आर्थिक कारोबार गर्ने सबै निकायहरूको तथ्यांक संकलन गरिनेछ। यसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहजस्ता आर्थिक गतिविधिसम्बन्धी १८ वटा क्षेत्रका आधारभूत विवरण समेटिने जनाइएको छ।
यसअघि नेपालमा राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा गरिएको थियो। नयाँ गणनाले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको आर्थिक अवस्था विश्लेषण गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।