दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले कृषि क्षेत्र र दार्चुलाप्रतिको आफ्नो विशेष माया र स्नेह व्यक्त गरेका छन्। उनले जिल्लाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने खालका किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने संकल्प समेत गरेका छन्।
तामाङका अनुसार दार्चुला जिल्लामा भौगोलिक विकटता र सीमित स्रोतका कारण कृषकहरूले अझै पर्याप्त लाभ लिन सकेका छैनन्। त्यसैले कार्यक्रम कार्यान्वयन एकाइमार्फत स्याउ, ओखर, सुन्तला जातका फलफूल, तरकारी तथा मकै जोनका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिँदैछ।
उनले भने, “दार्चुलाको कृषि सम्भावना निकै ठूलो छ। किसानलाई प्राविधिक सहयोग, आवश्यक तालिम र अनुदान उपलब्ध गराएर उत्पादकत्व बढाउने हाम्रो मुख्य उद्देश्य हो। किसानको आत्मविश्वास र सीप विकास नगरी कृषि आधुनिकीकरण सम्भव हुँदैन।”
उनले किसानहरूलाई आयआर्जनमा टेवा पुर्‍याउने मात्र नभई जिल्लाको कृषि आत्मनिर्भरता सुनिश्चित गर्न पनि विभिन्न कार्यक्रम संचालनमा ल्याउने जानकारी दिए। साथै, कृषि क्षेत्रमा लगानी बढाउन स्थानीय तह र विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
दार्चुलाका किसानहरूले कार्यालय प्रमुख तामाङको सक्रियता र किसानमैत्री सोचप्रति स्वागत व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस प्रकारका कार्यक्रमले कृषकलाई उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहयोग गर्ने विश्वास लिएको छ।